Sunday, July 31, 2016

प्रिय हुम्ला ! कहिले खुल्छ तिमीमाथिको नाकाबन्दी ? By_वसन्ती शाही

प्रिय हुम्ला ! कहिले खुल्छ तिमीमाथिको नाकाबन्दी ?
डियर हुम्ला, दुईचार महिना देश नाकाबन्दीमा पर्दा सिंगो नेपाल छट्पटाएको मैले देखेँ । पकाउने ग्यास नपाएर मानिस भोकभोकै सुतेको देखेँ । तेल नपाएर बाटोमा गाडी गुड्न बन्द भएको देखेँ र देखेँ यातायात व्यवसायीहरू रातारात धनी भएको पनि । पानीको अभाव, तेलको अभाव, दाल–चामल तथा अन्य खाद्यान्नको चरम अभाव र हुँदाहुँदा त काम गर्ने मान्छेहरूको पनि अभावै अभाव मैले देखेँ । मुलुक त्राहीत्राही थियो त्यतिवेला । मानिसलाई गन्तव्यमा पुग्न र फर्कनसमेत गाह्रो थियो । जमिनमा परेको माछा जस्तै छट्पटाएको थियो सिंगो मुलुक । तर, तिमी त रत्ति पनि डगमगाएनौ । म तिमीलाई नजिकैबाट नियालिरहेकी थिएँ र पनि तिम्रो मुहारमा कुनै किसिमको व्यग्रता देखिँदैनथ्यो । तिमी आफ्नै रफ्तारमा लेकबेसी गरिरह्यौ । तिमी गाईवस्तु चराइरह्यौ । तिमी भोट र अछाम गरिरह्यौ । तिमी आफ्ना सेता हिमाल हेरेर मुस्कुराइरह्यौ । तिम्रो शालीनता देखेर म धेरै गौरवान्वित छु र तिमै्र अंगीकृत नागरिक पनि भएकाले होला तिम्रो सुन्दरता र शालीनता मलाई औधि प्यारो लाग्छ । तर, तिमीलाई त्यो नाकाबन्दीको असर रत्ति पनि परेन । किनभने तिमीलाई त सधैँभरि नाकाबन्दी नै नाकाबन्दी छ प्रिय । तिमीले यी बिलासिता तथा आधुनिक उपकरण सबथोकको अभावमा जिउने कला सिकिसकेका छौ । तिमी त ठूला कहालीलाग्दा सेताम्मे हिमाल तथा भिरपाखाहरूले घेरिएका छौ । ठूला पार गर्न नसकिने नदीनालाको लक्ष्मणरेखाभित्र कैद गरिएका छौ । पैसा लिएर पर्यटकलाई देखाउने झरना सित्तैमा झारिरहेका छौ । तिमीलाई गाडी चढेर कुनै नौलो सहर जानु छैन । तिमीलाई ग्यास चुलोमा भात पकाउनु पर्दैन ।
तिमीले विषादी मिसाएर रंगीबिरंगी सजाइएका चिजबिज खानु छैन । तिमीले सिनेमा हेर्न जानु पर्दैन र पर्दैन कुनै ठूला विश्वविद्यालयमा डिग्री लिन पनि । अनि तिमीलाई त औषधिमुलो गर्न ठूला अस्पताल पनि चाहिँदैनन् । बिरामी जाँच्नका लागि मात्र स्वास्थ्य चौकीका ग्रामीण स्वास्थ्य कार्यकर्ता र पियन नै काफी छन् । तिनैले तिम्रो राम्रो ख्याल गरेका छन् । बरु यता त छ्याप्छ्याप्ती नक्कली प्रमाणपत्रधारी डाक्टरसाब मात्र हुँदा रहेछन् । रक्तअल्पता र अन्य कुनै कारणले बच्चा जन्माउन नसकी तिम्रा महिला छट्पटाएर मरे भने पनि तिमीलाई फरक पर्दैन किनभने तिमीसँग यार्सागुम्बा फल्ने माटोको बास्ना काफी छ । तिमीलाई पाँचऔँले, जटामासी, गुच्ची च्याउ, चिराइँतो, कटुकीजस्ता अनमोल जडीबुटीको उत्पत्ति गराउने माटोको बास्ना नै काफी छ । यहीँको जंगली माटोबाट निस्केको पानी नै तिम्रा लागि जीवनबुटी भएको छ र तिमीलाई सित्तैंमा जीवनदान गरिरहेको छ । तिमी भगवान् भरोसामा बच्चा जन्माउँछौ । तिनीहरूको लालनपालन र शिक्षा स्वास्थ्य भगवान्लाई सुम्पिन्छौ । त्यसैले किन पर्छ त तिमीलाई नाकाबन्दीको असर ? तिम्रो जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदलाई भने औधि नाकाबन्दीको पीडा छ । उनी जहिले पनि मसानघाटजस्तो सदनमा घाटकुरुवा जस्तो भएर पर्खिरहेका हुन्छन् । कति वेला मेरो बोल्ने पालो आउला र तिम्रो आजीवन नाकाबन्दीको पीडा सुनाउँला भनेर । कहिलेकाहीँ त कुर्सी मात्रै बाँकी रहँदा उनको बोल्ने पालो आउँछ र तिम्रा पीडा पोख्छन् । तिमीलाई थाहा छ ? उनको बोल्ने पालो कहिले आउँछ त्यहाँ ? उनका कुराको सुनवाइ त्यहाँ हुन्छ या हँुदैन ? सायद यो सधैँको नाकाबन्दी भएको भूभागको सांसद हो, यसलाई यहाँ पनि नाकाबन्दी नै लगाउनुपर्छ भन्ने ध्येयले त्यहाँ उनको सुनुवाइ त्यतिसारो हुँदैन, भलै राम्रै कुरा लिएर आएको किन नहोस् । तर, यो त अभाव भएको दुर्गम भूभागको सांसद केही न केही माग्नै आयो होला भनेर पर देख्दै मुन्टो बटार्ने काम हुन्छ त्यहाँ । उनीहरूलाई के थाहा हुम्लाबाट सिंहदरबार दुर्गम छ भनेर । तिमीलाई थाहा छ डियर ? तिम्रो सिँगान आएको नाक, झिँगाले छेरेको गाला, आठ ठाउँमा टालेको कपडा, खाद्य गोदामको लाइन बसेको तिम्रो शरीर, पिठ्युँमा भारी बोकेको डोको, तुइनमा झुन्डिएर नदी पार गरेको देह, तिम्रा महिलाले हलो जोतेको अनौठो दृश्य, तिम्रा माटोले ढलान गरेका घर आदि आदिका तस्बिर विदेशी दातालाई देखाएर तिम्रो नाउँमा यहाँ ठूलो रकम भित्र्याइन्छ । कर्मठ र इमानदार तिमीलाई गरिबको बिल्ला भिराइन्छ । अनि तिम्रो नाउँमा ठूलो रकम ल्याइन्छ । के तिम्रो दुखेको घाउ निको पार्न त्यो पैसाले किनेको औषधि खाएका छौ ? के तिम्री छोरीलाई स्कुल पठाउन त्यो पैसाले लुगा किनिदिएका छौ ? के तिम्री महिला सुत्केरी व्यथाले मर्न लाग्दा त्यो पैसाले एक पिन्ट रगत किनेर उनको ज्यान जोगान सफल भएका छौ ? के तिम्रा छोराहरूका लागि कुनै नयाँ रोजगारी दिएर मुग्लान पस्नबाट रोकेको अवस्था छ ? के तिम्रो ठाउँमा पाइने अमूल्य जडीबुटीको राजस्व तिम्रो हातमा परेको छ ? के त्यो पैसाले तिम्रो सन्तानले विश्वविद्यालयको डिग्री तिम्रै काखमा बसेर लिएको छ ? के तिम्रा पसिनाको मूल्य चुकाउन त्यो पैसा काममा कतै आएको छ ? अहँ छैन । तिमी त सधँैको नाकाबन्दीमै छौ डियर, तिमीलाई त यसको कुनै पर्वाह नै छैन । तिम्रा लागि यसको कुनै औचित्य पनि छैन । जसले तिम्रो नाममा जतिसुकै रकम कुम्ल्याए पनि तिमी त फापरको रोटीसँग सिस्नाको फाँडो आधा पेट खान पाउँदा पनि मख्खै छौ । जंगलमा एक भारी सुकेको दाउदा पाउँरा पनि तिमी मख्खै छौ । जन्मिँदा तिमीले नाक खुम्च्याएकी छोरीले मुसलले चिनु कुटेर भात पकाई खान दिई भने पनि तिमी मख्खै छौ । आकाशमा उडेको हवाईजहाजलाई हेर्न पाउँदा पनि तिमी मख्खै छौ । धन्य तिम्रो शालीनता । धन्य तिम्रो सहनशीलता । मेरो प्यारो हुम्ला, तिमीलाई त्यो आकाशमा उडेको हवाईजहाज चढ्ने रहर लाग्दैन ? तिम्रो घरको अगाडिबाट चौँडा बाटोमा गाडी गुडेको हेर्न रहर छैन ? के तिम्रो बारीमा फलेको ताजा स्याउ र चुली सहरमा पुत्र्याएर पैसा कमाउन मन छैन । के तिमीलाई खरानीले नभएर साबुनले धोएको सुकिलो लुगा लगाउने इच्छा हुँदैन ? के माटोले ढलान गरेको घरमा टिनले छाना छाउने रहर छैन ? के तिम्रो छोरा तिम्रै घरको फापर–कोदो खाएर उच्चशिक्षा हासिल गरेको हेर्ने रहर छैन ? के तिमीलाई सधैँ सल्लाको कालो ध्वाँसो आउँने दाउराबाहेक ग्यास चुलो बाल्ने इच्छा हुँदैन ? के तिमीलाई फापर र कोदोको रोटीबाहेक त्यसैको केक बनाएर खान मन लाग्दैन ? अपसोच ! तिमीलाई पनि यी सबै कुराको नयाँ–नयाँ प्रयोग गरी सुख साथ बसेर खाने रहर त हुँदो होला नि, हैन ? अकालमै श्रीमती गुमाएर एक्लै भांैतारिनुको पीडा त तिमीलाई पनि छ होला । तर, तिमीलाई थाहा छ, तिम्रो जिल्लामा बाहेक अरू सबैतिर पुरुषहरूको जनसंख्या थोरै छ तर तिमी त छोरा जन्माउने निहुँमा धेरै सन्तानको जन्म दिँदा कुपोषणले थलिएको ज्यान चालीस नकाट्दैकी श्रीमतीलाई माटोमा बिलीन हुन बाध्य गराउँछौ र पो त । खैर, जे भए पनि यो सधैँको स्थायी नाकाबन्दीलाई खोल्नैपर्छ । छिमेकी साथी डोल्पा पनि त नाकाबन्दीमै त छ नी भनेर मख्ख नपर, उसले त नाका खोल्ने तयारी गरिसकेको छ । तिमीमाथि लगाइएको नाकाबन्दी पो कहिले खुल्ने हो ? कहिले तिमीले यसका बारेमा पहल गर्ने हो ? कहिले मैले तिमीमाथिको नाकाबन्दी खुला भएको देख्न पाउने हो ? 

No comments:

Post a Comment