Wednesday, May 11, 2016

डण्ट किल कर्णाली विथ योर एड

जीवन बहादुर शाही

काठमाडौँको  बुढानिलकण्ठ स्कुलमा एसएलसी र काठमाडौमै आइएस्सी अध्ययनपछि म पाइलट कोर्स गर्न अमेरिका गएँ ।
 कर्णालीमा जन्मेको मेरा लागि अमेरिकामा गएर पढ्ने अवसर पाउनु सौभाग्यको बिषय थियो । 
अमेरिकाबाट फर्केपछि मलाई एसियन एयरलाइन्समा जागिरको ‘अफर’ थियो तर म नेपाल वायुसेवा निगममा जागिर खान चाहन्थेँ ।
 पाईलटको जागिर नखाएर म हुम्ला पुगेँ ।
त्यतिवेला २०४६ सालको आन्दोलन उत्कर्षमा पुगेको थियो तर हुम्ली जनता प्रजातन्त्रको उत्वस मनाउने हैसियतमा थिएनन् ।
 हुम्लामा पहिलो पटक बामपन्थी र कांगेस पार्टीको स्थापना भयो । २३ बर्षको उमेरमा मैले कांग्रेसको जिल्ला सभापति बन्ने मौका पाएँ ।
अमेरिकामा पढेपनि मलाई किन–किन हुम्लामै गएर जनताको सेवा गर्ने रहर लाग्यो ।

 त्यसैक्रममा राजनीतिमा जोडिएँ । ०४९ सालको स्थानीय चुनावमा म जिबिस सभापतिमा लडेको थिएँ तर काका वीरजंग शाहीसँग पाँच
 भोटले जिविसको सभापतिमा पराजीत भएँ, तर पछि म जिबिस सभापति बनेँ ।
मेरो सपना कर्णालीलाई आत्मनिर्भर बनाउने हो । सडक लगायत भौतिक पूर्वाधारको विकास गर्न सके कर्णाली अन्य प्रदेश भन्दा
 सम्पन्नशाली बन्ने निश्चित छ किनभने यस क्षेत्रमा मात्र २१ हजार मेगावाट विजुली उत्पादन गर्न सकिने सम्भावना छ ।
प्रचुर सम्भावना भएपनि कर्णालीका जनता परनिर्भर छन् । दाताको चामल कार्यक्रमका कारण कर्णालीका जनता परनिर्भर भइसकेका छन् ।
 शहरमा सम्पन्न व्यक्तीको आकर्षण बनेको कोदो फापर छाडेर हुम्ली जनता भात मात्र खाना हो भन्ने अवस्थामा आइपुगे ।
सन् २००५ मा मैले एउटा लेख लेखेँ, ‘डण्ट किल कर्णाली विथ योर एड’ शीर्षकमा । मेरो आशय के थियो भने कर्णालीलाइ परनिर्भर होइन,
 आत्मनिर्भर बनाऔँ । कर्णाली नदीको किनारमा ठूला उर्वर फाँट छन् तर सिंचाइ अभावमा ती फाँट बाँझा छन् ।
कर्णाली समृद्धिको आधार 
च्याउ, झ्याउ र स्याउ कर्णालीको मुहार फेर्ने माध्यम हुन् । कर्णालीको ‘गुच्छे च्याउ’ जसको मूल्य प्रतिकेजी ३०/३५ हजार रुपैया पर्छ,
 यसका लागि बजारको कुनै समस्या छैन । कर्णालीको गुच्छे च्याउको अन्र्तराष्ट्रिय बजारमा ठूलो माग छ ।
कर्णालीका जिल्लामा यसको व्यापक र व्यवसायिक खेती गर्न सकिन्छ । यसमार्फत कर्णालीमा बार्षिक करोडौ डलर भित्राउन सकिन्छ ।
 गुच्छे च्याउ (मर्चेरा) एक किलोको ३० हजार रुपैयाँ पर्छ । त्यो हाम्रो ठाउँमा मात्र शुन्छ । त्यहाँ राज्यले विज्ञलाइ पठाइ दिनुप-यो ।
कर्णाली समृद्धिको दोस्रो सम्भावना भनेको स्याउ नै हो ।
काठमाडौमा ५ हजार किलोमिटर टाढा अष्ट्रेलिया र चीनबाट स्याउ आइरहेको छ ।
 नेपाल स्याउका लागि परनिर्भर छ तर बाटो अभावमा कर्णालीको स्याउ कुहिएर गएको छ ।
 कर्णालीमा स्याउको व्यबसायीक खेती गर्ने संभावना प्रचुर छ । मुस्ताङमा एउटा व्यक्तीको स्याउ फार्मवाट ७० लाखिमा 
स्याउ विक्री भएको खवर आएको थियो । कर्णालीमा पनि हामीले त्यस्ता स्याउ भिलेज नै स्थापना गर्न सकिन्छ ।
कर्णालीको अर्को संभावनाको क्षेत्र भनेको झ्याउ अर्थात जडीबुटि हो । कर्णाली जरीबुटिको खानी नै हो ।
 कर्णालीमा यति महत्वपूर्ण जरीबुटी उपलव्ध छ, तर कुहिएर गएको छ । नेपालको जरिबुटीवारे भारतीय प्रधानमन्त्री
 नरेन्द्र मोदीले नेपालको संसदमा संवोधका क्रममा पनि कुरा उठाउनु भएको थियो । कर्णालीका बहुमूल्य जरीबुटिलाइ ‘
हाइ भ्यालु लो भोल्युम’ बनाएर निर्यात गर्न सकिन्छ । कणौलीमा बार्षिक करोडौ रुपैयाको यार्शागुम्बा निर्यात हुन्छ ।
 यसबाट पनि कर्णालीको कायापलट संभव छ ।
यसअतिरिक्त कर्णालीको फापर, सिमि र रातो मार्सी धान अहिले शहरमा धेरै माग भएको वस्तु बनेको छ । 
उच्च भेगको रातो मार्सि चामल एक जुन महुमेह भएका रोगीका लागि औषधी सरह मानिन्छ । रोतो मार्सी एक किलोले
 यहाँ ३ किलो बास्मती चामल आउछ । यस्ता उत्पादन मार्फत कर्णालीको मुहार फेर्न सकिन्छ । तर सिंचाइ अभावमा 
कर्णालीका फाट उजाड बनेका छन् ।
सधै अभाव, राज्यको उपेक्षा
धेरै संभावना भएपनि कर्णालीका सबै जिल्लामा बाटो पुगेको छैन् । तराइका जिल्लामा ६ लेनको बाटोको कुरा उठ्दा

 कर्णालीका जिल्लामा दुइ लेनको बाटो बन्न सकेको छैन् । विकास भनेको मुख्य कुरा वाटो रहेछ । कर्णालीका लागि 
अहिलेको लागि सबैभन्दा महत्वपूर्ण कुरा बाटो नै हो । बाटो भएपछि विकासका अन्य संभावना आफै खुल्न थाल्छन ।
कर्णाली विगत देखी नै उपेक्षाको शिकार बन्न पुग्र्यो । काठमाडौ लगायत देशका अन्य ठाउमा घर घरमा टेलिफोन
 पुग्दा कर्णालीका जिल्लामा एउटा टेलिफोन पुग्नु ठुलो कुरा भयो । कर्णालीका जनता अहिले पनि राज्यका आधारभूत
 सुविधाबाट समेत वञ्चित छन् । विकास शहरमा केन्द्रीत हुदा कर्णाली सधै पिछडीएको छ ।
२१ औ शताव्दीको युगमा पनि कर्णालीका गाउका जनताले राज्यकोे तर्फवाट न्युनतम सुविधा पाउन सकेका छैनन् । 

हुम्लाको लीली गाविसका जनताले एक दिन प्रश्न गरे, नून सुन र उन (कपडा) चाही चाइनाको, कानून मात्र नेपालको किन मान्ने ?
एकपटक लगानी सधै प्रतिफल
देशको भूगोल जती कर्णालीमा छ, तर विकास जति जनसंख्याले लिने भयो । कर्णालीले १५ प्रतिसत क्षेत्रफल 
ओगटेको छ, जनसंख्या ३ लाख ८८ हजार चानचुन छ । राज्यले कर्णाली विशेष ठाउ हो भनेर सडक सञ्जाल
 विस्तार गरिदिए मात्रपनि धेरै कुरा आफै विकास हुदै जाने थियो ।
कर्णालीमा एक पटक लगानी गर्यो भने त्यहावाट आउने मात्र छ ।
करिव करिव २१ हजार मेगावाट विजुली निकाल्न सकिन्छ । तर कर्णाली राज्यको विभेदको शिकार बनेको छ । 
अहिलेको सरकारमा कर्णलीको एउटा पनि मन्त्री छैन, एकजना राज्यमन्त्री मात्र छन । कमसेकम एउटा पहुच भएको
 मन्त्रालय कर्णालीले पायो भने त्यहाँको विकासमा मद्दत पुग्ने थियो ।
डा. अरुणा उप्रेतीले कर्णालीको अनाजको बारेमा लेख्दै आउनु भएको छ, कर्णालीको अनाज यति महत्वपूर्ण भनेर लेख्नु भएको थियो ।
 अन्य बुद्धिजीवीले पनि कर्णालीको उत्पादको बारे लेखिदिए मात्र त्यहाँका जनताले उत्पादनमा लाग्ने थिए । तर कर्णालीलाइ कुहिएको 
चामल बाढेर परजीवी बनाइयो । कर्णालीको खाद्यान्न औषधी रहेछ, कोदो फावर, कावुलो औषधी रहेछ । तर विडम्बना कर्णालीका
 मान्छे कोदो खादा खस्रो भयो भनेर चाउचाउमा पल्किए ।
कामका लागि खाद्य कार्यक्रमले गर्दा कर्णालीका जनताको मानिसको स्वाद फेरियो, तर उत्पादन कम भयो ।
 सुन्धारामा चिकेन ढेडो खादा २ सय रुपैया पर्छ, जबकि वास्मती चामलको भात खादा डेढसय मात्र ।
 यो कुरा कर्णालीका जनतालाइ बुझाउन सक्नु पर्यो । हुनत चामल बाढ्ने नीतिको विरोधगर्दा त्यहाँका जनता मसंग रिसाए ।
 तत्कालका लागि बिरोध भएपनि कर्णालीलाइ आत्मनिर्भर र विकास गर्न चामल बाढ्ने होइन उत्पादन गर्ने प्रबिधि सिकाउनु पर्यो ।
कर्णालीको उत्पादनले मात्र चामल नपुग्ला त्यसका लागि तराइको चामल पहाडमा पठाउने, पहाडको कोदो फलफुल तराइमा
 पठाएर नै देश आत्मनिर्भर बन्ने हो । विश्वमा कहीपनि सबै कुरा एकै ठाउमा उत्पादन हुने त होइन ।
 कर्णालीको सिमि यति राम्रो छ, जसको माग बढिरहेको छ । फापर औषधीको रुपमा विकास हुन थाल्र्यो ।
बजेटको फिगर हेर्यो भने कर्णालीमा लगानी भएजस्तो देखिन्छ । तर एक करोड बजेटको मध्ये ७५ लाख त भाडामै सकिन्छ ।
 हालै अखवारमा आएको थियो, कर्णालीमा चालम ढुवानी गर्न ४८ करोड लगान भएछ । हामीले चामल होइन पानी भनेका छनै ।
कर्णालीको तिरमा फाट छ, तर सिंचाइ नभएर छटपटाइरहेको छ । त्यहाको जमीनलाइ उर्भरा बनाउदा मात्र पनि कर्णालीलाइ खान पुग्छ ।
 गतबर्ष नेपालले २ अर्बको कोदो भित्राएको रहेछ । त्यो कोदो कर्णालीले उत्पादन गर्न सके २ अर्ब बाहिरिने थिएन । 
यसका लागिपनि व्यबसायीक खेती गर्नुपर्यो ।
एकजनाले गाइ भैसी, भेडा च्याङरा र खच्चड पाल्ने होइन । एक जनाले एकथोक उत्पादन गर्ने नीति बनाउनु पर्यो ।
(नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद जीवन बहादुर शाहीसंग गरिएको कुराकानीमा आधारित)

No comments:

Post a Comment