Wednesday, May 11, 2016

जिवन बहादुर शाही

कांग्रेसमा अब केको भागबन्डा ?

जीवनबहादुर शाही

महाधिवेशनका कमी कमजोरी
नेपाली कांग्रेसको १३औँ महाधिवेशन भर्खरै सम्पन्न भएको छ । यस महाधिवेशनलाई देश दुनियाँले उत्सुकतासाथ हेरेको थियो । परिणाम पनि त्यस्तै खालको आएको छ । कुनै पनि पार्टी वा संस्थालाई जीवन्त बनाउने भनेको त्यसको नेतृत्वले हो, त्यसले गर्ने समयानुकूल निर्णयले हो अनि समयसापेक्ष काम कारबाहीले हो । तर, यस्तो उत्सुकतापूर्वक हेरिएको पार्टीको मतगणना गर्ने तरिकाले भने कांग्रेस हँसीमजाकको पार्टी बन्न गयो । तीन हजार मतगणना गर्न एक हप्ता लगाउने दलले देशको विकास गर्न कति दशक लगाउला भन्ने टीका–टिप्पणी पनि मुलुकका विद्वत् वर्गबाटै आए । यस्ता टीका–टिप्पणी आउनु धेरै हदसम्म स्वाभाविक पनि हो । यसलाई हामी सबैले गम्भीरतापूर्वक लिनु जरुरी छ । मलाई जहाँसम्म लाग्छ, यो शुभचिन्तकहरूकै चिन्ता हो । जसप्रति भरोसा हुन्छ, उसैसामु चिन्ता व्यक्त गर्नु अस्वाभाविक पक्कै होइन ।
बहुदलीय प्रतिस्पर्धामा दल अति महत्त्वपूर्ण हुन्छ । दलीय संयन्त्रमा देशको निर्माण, उन्नति, प्रगति र समृद्धि उसले ल्याउने नीति र कार्यक्रमबाट हुने हो । त्यसका लागि चुस्त दुरुस्त व्यवस्थापन आवश्यक हुन्छ । हामी नेपालीमा कमी छ भने व्यवस्थापनकै कमी छ । सबभन्दा बढी कमी हामी मुलुक बनाउने र राज्य सञ्चालन गर्ने दलहरूमै छ । जसको फलस्वरूप हाम्रो मुलुक आज पनि अविकसित मुलुकका रूपमा संसारभरि परिचित छ । आफ्नो पार्टीलाई समेत सुव्यवस्थित गर्न नसक्नेले देशको व्यवस्थापन कसरी गर्ला भनेर नेपाली जनताले प्रश्न गर्नु किमार्थ नाजायज होइन । यसलाई शिक्षाका रूपमा ग्रहण गरेर व्यवहारमा उतार्नु हाम्रो दायित्व हो । जबसम्म हामी नेपालीले आफ्ना कमी–कमजोरीलाई सच्याउने प्रयास गर्दैनौँ, तबसम्म मुलुकले अग्रगति लिन मुस्किल पर्छ । कसैले राम्रो गर्दा पनि धन्यवाद भन्न नसक्ने र गल्ती गर्दा पनि माफी माग्न नसक्ने अवस्थामा हामी पुगिसकेका छौँ । स्वाभाविक रूपमा यस्तो स्वभाव प्रगतिको बाधक हो ।

ओझेलमा परेको नीति तथा कार्यक्रम
कुनै पनि क्षेत्रमा काम गर्नेको गल्ती औँल्याउनु नै हाम्रो संस्कार हो कि जस्तो लाग्न थालेको छ । हामीमा कसैको राम्रो कामको प्रोत्साहन गर्ने संस्कारकै अभाव छ । राम्रो कामको प्रोत्साहन र कमजोरी सुधार्ने खालका टीका–टिप्पणी गर्ने र लेख रचना लेख्ने हो भने समाज सुधारोन्मुख हुने प्रबल सम्भावना हुन्छ । कांग्रेसको १३औँ महाधिवेशनको सिलसिलामा पनि जो–जतिसँग भेटघाट भलाकुसारी हुन्थ्यो, खाली कांग्रेसले यो गरेन, त्यो गरेन, नीति तथा कार्यक्रममाथि छलफल गरेन, ४० र ६० को भागबन्डा छ भन्ने टिप्पणी मात्र सुनिन्थ्यो । यस्तो टिप्पणी गर्नु हुन्नथ्यो भन्ने मेरो भनाइ होइन तर नीति तथा कार्यक्रममाथिको बहस र छलफलमा भने कसैले पनि त्यति ध्यान दिएको जस्तो देखिएन । कांग्रेसको नीति तथा कार्यक्रममा यी–यी विषयवस्तुमा कमी–कमजोरी रह्यो, यी–यी विषयवस्तु उठान गर्नुपर्छ भन्ने टिप्पणी भने शून्यप्राय: नै थिए । खालि एकोहोरो किसिमले नीति के हो, कार्यक्रम के हो भन्ने प्रश्न चाङमाथि चाङ बर्साइन्थ्यो । के यस्ता कुरालाई सकारात्मक सोचका साथ अग्रसरता दिइएको भन्न मिल्ला र ? जबर्जस्ती कांग्रेस नीति तथा कार्यक्रमविहीन पार्टी हो, पार्टी एक ढिक्का छैन, गुट–उपगुट धेरै छन् भन्ने मनोभावनाले मात्र प्रेरित भएको बुझिन्थ्यो । एउटा जीवन्त पार्टीमा आन्तरिक निर्वाचन हुँदा विभिन्न खालका व्यक्तित्वको समर्थन वा विरोध गर्नु कुनै गलत कार्य होइन । समर्थन र विरोध गर्दा गुट र उपगुटको आरोप लगाइएन र उही पुरानै नेतृत्व स्विकार गर्दा यथास्थितिवादी, रुढिवादी पश्चगामी भनिने रहेछ राजनीतिमा । यसरी अँ भन्दा पनि हान्ने नाइँ भन्दा पनि हान्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ अब ।

अब के गर्ने ?
अबका दिनमा यस्तो नेपाली मनोविज्ञानलाई कसरी सुधार्न सकिन्छ भनी हामी सबै क्षेत्र र वर्गका नागरिकले सोच्नुपर्ने अवस्था आएको छ । यदि यस्ता महत्त्वपूर्ण विषयवस्तुतर्फ हामीले वेलैमा नसोच्ने हो भने कुनै दिन हाम्रो मुलुक नकारात्मक सोचले भरिएको देशमा परिणत हुन बेर छैन । भन्ने गरिन्छ, ‘विकास’ भन्ने शब्दको अर्थ भनेको बिग्रेको कामलाई सपार्ने हो । तर, विडम्बना, नेपालमा हामी उल्टा छौँ । ‘सप्रेका कामलाई बिगार्ने’ गरिरहेका छौँ । यस्तै कुराको प्रभाव नेपाली कांग्रेसमा पनि दरै रूपले परेको छ । म बुझ्नै सक्दिनँ किन कांग्ेरसभित्र लोकतान्त्रिक अभ्यास छ भनिँदैन ? किन आन्तरिक लोकतन्त्रको सर्वोत्कृष्ट अभ्यास मतदान हो, जो कांग्रेसले गरिरहेको छ भनिँदैन ? कता–कता दलहरू अधिनायकवादी हुनुपर्छ, यिनले मतदान गराउनु हुँदैन । बरु सकिन्छ भने कथित नै भए पनि सर्वसम्मत गरिनुपर्छ भन्ने खालका अभिव्यक्ति विभिन्न माध्यम र व्यक्तिबाट आइरहेको हुन्छ, यसैमा बुझ्न सर्वसाधारणलाई अति कठिन छ । के यस्तै प्रक्रियालाई आन्तरिक लोकतन्त्र भनिने हो वा प्रजातन्त्रको जाँच भनेकै स्वस्थ, निष्पक्ष, धाँधलीरहित मतदान हो । यो कुरा आमजनसमुदायमा बुझाउनु अत्यन्तै
जरुरी छ ।

भागबन्डाको समस्या
अब रह्यो कांग्रेसभित्रको अति चर्को रूपमा उठाइएको ४०/६० को भागबन्डाको मुद्दा । शीर्ष नेताहरूले उम्मेदवारको टिकट वितरण गर्दा होस् वा मन्त्री बनाउँदा होस् वा अन्य कुनै संवैधानिक निकायमा नियुक्त गर्दा नै किन नहोस्, नेताहरूले दिने नाममा भागबन्डाको रूपमा लिने गरिन्छ । तर, यसरी दुई समूहको प्रतिस्पर्धालाई भागबन्डा भन्नु गलत हो । यसलाई हामी सबैले अतिरञ्जित गर्ने पनि गरेका छौँ । तर, कांग्रेसका कार्यकर्ताले देश दुनियाँले भन्ने गरेको ४०/६० भागबन्डा गलत हो भन्ने कुरा १३औँ महाधिवेशनले पनि प्रमाणित गरिदिएको छ । हाम्रो निर्वाचन प्रणालीमा २५ सदस्य खुला निर्वाचित हुने व्यवस्था छ । ६ सदस्य महिला, तीन दलित पुरुष, दुई दलित महिला र तीन जनजाति पुरुष छन् । दुई जनजाति महिला, तीन मधेसी पुरुष, दुई मधेसी महिला छन् भने एक मुस्लिम कोटा छ । त्यसरी नै भूगोलबाट सात प्रदेशमा १४ सिटको व्यवस्था छ । यी सबैमा निहालेर हेर्ने हो भने कहीँ कतै पनि चालीस र साठीको भागबन्डा पर्दैन । सबैभन्दा रमाइलो परिणाम त प्रदेशबाट आएको छ । प्रदेशमा अरूभन्दा दुई– दुईजना सभापतिको समर्थनमा उठेका भनेर बाहिर व्यापक भनाइ थियो । तर, कांग्रेसका मतदाताले कुनै पनि प्रदेशमा एकै पक्षका भनिएका उम्मेदवारलाई निर्वाचित गरेनन् । बरु प्रत्येक प्रदेशमा ५०/५० प्रतिशत दुई पक्षीय भनेर जिताएर कांग्रेसमा ४०/६० होइन, सय प्रतिशत नै कांग्रेस हो भनी दिएको सन्देशलाई हेक्का राख्नु जरुरी छ ।
यही कार्यकर्ताले गरेको न्याय र सन्देशलाई आत्मसात् गर्दै अब कांग्रेसलाई
एक ढिक्का, मजबुत, पारदर्शी र व्यवस्थित गर्दै देशको समुन्नतितिर लगाउनु हामी कांग्रेसीको शिरमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमानदारीको अत्यन्त ठूलो आवश्यकता छ ।

(शाही कांग्रेस केन्द्रीय सदस्य हुन्)

No comments:

Post a Comment